२ असार, काठमाडौं। पश्चिम तराईका बासिन्दाहरूलाई असार ६ गतेसम्म चर्को गर्मीको सामना गर्नुपर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै असार ३ गतेदेखि ६ गतेसम्म तातो हावा तथा तातो हावाको लहर चल्ने जानकारी दिएको हो।
महाशाखाले यसअघि तीन दिनको मौसम पूर्वानुमान गर्दै आए पनि तातो हावाको लहरको यो पूर्वानुमान चार दिनसम्म गरेको छ। महाशाखाले तातो लहर अर्थात् हिट वेभका असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
लामो समयदेखि पानी नपर्दा पश्चिम नेपालका तराई तथा भित्री मधेशबासी सुख्खा र खडेरीको मारमा परेका छन्। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार, कोशी प्रदेशमा २८ जेठमा भित्रिएको मनसुन पश्चिमतिर फैलिन नसक्दा गर्मी बढेको हो। स्थानीय वायु, पश्चिमी वायु, र भारतको बिहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुन फैलिन ढिलाइ भइरहेको मौसमविद्हरू बताउँछन्।
त्यसैले, काठमाडौंसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा गर्मी उच्च छ। शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५ वर्षपछिकै उच्च बिन्दुमा पुगेको थियो। शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ। यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो। काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो।








