पोखरा महानगरपालिका पोखरालाई पर्यटनको राजधानी घोषणा पश्चात् एकीकृत रणनीतिक कार्य योजना निर्माणको तयारीमा लागेको छ । समग्र पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सहरी योजना आयोग मार्फत एकीकृत रणनीतिक कार्य योजना निर्माण गर्न लागिएको हो ।
आगामी १० वर्षमा पोखरा महानगरपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन भूमिका र जिम्मेवारीहरूका लागि कार्यहरू सहित एकीकृत र रणनीतिक पर्यटन कार्य योजना निर्माण गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । ‘यसले पोखराको समग्र पर्यटन क्षेत्रको विकाससँगै पर्यटनलाई गतिशील बनाउन मार्गचित्रका रूपमा काम गर्नेछ, उहाँले भन्नुभयो, पर्यटन राजधानी घोषणा भएपछि आधारभूत रूपमा पर्यटन पूर्वाधार र व्यवस्थापन कार्यलाई रणनीतिक रूपमा अगाडी बढाउनै पर्दछ ।’ पोखरा विश्व बजारमा परिचित पर्यटन सहर भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या अपेक्षित नभएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
पोखराको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, साहसिक र रैथाने उत्पादन लगायतको उजागर गर्ने गरी एकीकृत कार्य योजना आवश्यक रहेको पर्यटन क्षेत्रका विज्ञहरूले सुझाएका छन् । यस सम्बन्धमा बुधवार सरोकारवाला र पर्यटन क्षेत्रका विज्ञहरूसँग छलफल तथा परामर्श गरिएको छ । महानगरको सहरी योजना आयोगको व्यवस्थापनमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा डा.प्रनिल नेपाल (उपाध्याय) ले कार्य योजनाको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।








