मानव बेचविखन अनुसन्धान ब्युरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको साढे २ वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटकपटक भेटेर तिमीहरूको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौंको संस्थाको होस्टलमा राखिदिन्छौ भनी काठमाडौं ल्याएर बिक्री वितरण गरेको अनुसन्धानमा खुलेको बताए।
पक्राउ विश्वकर्माले साढे २ वर्षकी बालिकालाई गत चैत २९ गते पीडितको घरमा गई ल्याएर चार दिन आफ्नो घरमा राखेर बालिकालाई झापाको काँकडभिट्टा पुर्याएर भारतको सिलगुडी माइती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
पक्राउ विश्वकर्माले संस्थाको तर्फबाट भनी पीडित बालिकाको आमाबुबालाई २० हजार दिएको अनुसन्धानमा खुलेको छ। प्रहरीले पीडित बालिकालाई वैशाख १० गते उद्दार गरि सुरक्षित आवास गृहमा राखेको छ।








