गत माघ ११ गते पुतलीबजार नगरपालिका-७ कि १७ वर्षीय किशोरी घरबाट कसैलाई नसोधी हिँडेपछी सम्पर्कविहीन थिइन् । परिवारको सम्पर्कमा नआएपछि किशोरीकी आमाले सोही दिन प्रहरीमा छोरी हराएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
रानाले बालिका हराएको उजुरीको सातौं दिनमा पुतलीबजार नगरपालिका-४ का १८ वर्षीय किशोरसंग बालिकाको बालविवाह हुन लागेको सूचना आएको बताए । हराएकी बालिका विवाह गर्ने तयारीमा रहेको खबर आएपछि ती जोडीबीच बालविवाह भएको हो वा होइन भन्ने विषयको अनुसन्धान गरी प्रहरीले बालविवाह गरेको प्रमाणित भएसङ्गै उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए ।
केटाको घर नजिकै रहेको शिव मन्दिरमा बाजा बजाएर तामझामका साथ विवाहका सबै रीत पूरा भइसकेको थियो । घरमा बेहुली भित्र्याउन केही समय मात्र बाँकी रहँदा जोडीलाई पक्राउ गरिएको डिएसपी रानाले बताए । उनले विवाहमा बालिका पक्षको संलग्नता नरहेपनि बालविवाहमा जन्तीसहित केटा पक्षको संलग्नता रहेको बताए ।
डिएसपी रानाले बालविवाह पुष्टि भएसङ्गै पक्राउ गरिएको जोडीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिए । उनले दुईजनाबीच प्रेमपछि विवाह भएको अनुमान गरिएको र आवश्यक अनुसन्धान गरिरहेको बताए ।
डिएसपी रानाले २० वर्ष नपुगी गरेको विवाहलाई कानुनी मान्यता नदिने भएकाले उक्त विवाह कानुनतः बदर हुने बताए । विवाह गर्ने जोडीलाई मुलुकी अपराधसंहिता,२०७४ अनुसार विवाह कसुरमा कारबाही हुनेछ । नेपालको कानुनमा २० वर्षभन्दा पहिला विवाह गर्ने जोडीलाई तीन वर्ष जेल र तीस हजार रुपैयाँसम्मको कारबाही हुने उल्लेख गरिएको छ ।








