चैत २०८० फलिना क्होइबो, पोखरा
तमु प्ये ल्हु संघ, प्रवास शाखा हङकङले तमु प्ये ल्हु संघ, जिल्ला समिति पर्वतको क्ल्हे क्होइबोलाई हङकङमा संकलित रकम रु. ३,०७,५००/- आज एक कार्यक्रम बीच हस्तान्तरण गरेको छ । सोमबार आयोजित केन्द्रीय समितिको विस्तारित बैठक बीच हङकङका अध्यक्ष मन बहादुर क्रोम्छें तमुले पर्वतका अध्यक्ष देब बहादुर टुक्ल्हेप्री तमुलाई हस्तान्तरण गरेको हो ।
तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि भनेर तमु प्ये ल्हु संघ जिल्ला समिति पर्वतको सक्रियतामा महाशिला-४ लाम्तुनमा बन्दै गरेको क्ल्हे क्होइबो निर्माण सहयोगार्थ तमु प्ये ल्हु संघ, प्रवास शाखा हङकङको सक्रियतामा संस्थागत र व्यक्ति विशेषबाट संकलन गरी ल्याएको सहयोग रकम रु. ३,०७,५००/- हस्तान्तरण गर्दै अध्यक्ष मन बहादुर क्रोम्छें तमुले “एक गाउँ एक क्होइबो” भन्ने तमु प्ये ल्हु संघ, केन्द्रको अवधारणालाई आत्मासात गर्दै हङकङमा भएका तमु प्ये ल्हु बादी तमुसँग चन्दा संकलन गर्दै नेपाल पठाउँदै गरेका छौं ।
संस्थागत रुपमा अधिकारिक निवेदन आएको खण्डमा ढिलो चाँडो कसैलाई काखा र कसैलाई पाखा नगरी तमु जातिको मौलिक प्ये ताँ ल्हु ताँ लाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि बन्ने एकरुपता क्होइबोलाई सहयोग गर्न हङकङ हमेसा सकारात्मक रहेको बताउँछन् । यसैबीच तमु प्ये ल्हु संघ हङकङले हालै निर्वाचित केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर थिम्जे तमु लगायत नयाँ कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुलाई बधाई सम्मान गरेका छन् । प्रवास शाखाबाट नेपाल आएको बखत केन्द्रलाई प्रत्यक्षरुपमा गरिएको बधाई सम्मान सम्भवत यो पहिलोपटक रहेको बताउँछन् हङकङका सचिव भोजेन्द्र प्हच्यु तमु ।
यसैगरी हालै सम्पन्न केन्द्रीय समितिको महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई सम्मान तथा शुभकामना दिंदै लोकतान्त्रिक पद्धतिमा निर्वाचन प्रक्रियाबाट निर्वाचित भएकाहरू संस्थाभित्र र उपविजेताहरु संस्था बाहिर हुने होइन । संस्था ठूलो र फराकिलो बनेपछि यो निर्वाचन प्रक्रिया अस्वाभाविक होइन त्यसैले निर्वाचनमा हारे भन्दैमा प्रतिशोधको भावना लिएर बस्ने होइन सबै मिलेर संस्थामा अट्ने वातावरण सिर्जना गरौं फुटेर होइन जुटेर लागौं हैन भने जातीय पहिचानको संस्था अन्यबाट उपेक्षित हुनसक्छ, हङकङका अध्यक्ष मन बहादुर क्रोम्छें तमुले आफ्नो धारणा व्यक्त गरे ।
यसैगरी तमु प्ये ल्हु संघ जिल्ला महिला समिति कास्कीले रु. ११,१११/- यस अगावै सहयोग हस्तान्तरण गरेको छ भने आज केन्द्रीय महिला समितिले पनि रु. २५,०००/- सहयोग रकम हस्तान्तरण गरेको छ । यसैक्रममा पर्वतका अध्यक्ष क्ल्हेप्री चिबा देब बहादुर टुक्ल्हेप्री तमुले सहयोगका लागि हङकङ र केन्द्रीय महिला समिति लगायत सबैलाई विशेष धन्यवाद दिंदै ढिलै भए पनि पर्वतमा संगठन विस्तारसँगै लाम्तुनमा क्ल्हे क्होइबो बनाउन स्थानीय स्रोत साधन र देश विदेशमा रहने तमुको आर्थिक, नैतिकता, भौतिक रुपमा पाएको साथ सहयोग र सद्भावले गर्दा आज पर्वतमा क्होइबो बनेको छ र यससँग सम्बन्धित संरचनाहरु जस्तै प्ल धिं, आँला राख्ने घुमाउने घर र सामुदायिक भवनको पनि लगभग ८०% काम सकिएको छ । यसको लागि सबै सबै सहयोगी मनहरु प्रति आभार प्रकट गर्दछौं मन्तव्यमा भनेको छ ।
‘एक पन्थ दो काम’ भन्या झैं आजको उक्त सहयोग रकम हस्तान्तरण सँगै विभिन्न क्षेत्रीय समाज/इकाईसँग बसेको विस्तारित बैठक मार्फत जानकारी गराउँदै तमु प्ये ल्हु संघ रोल्पा र बर्दियामा बन्दै गरेको क्होइबोका लागि आगामी २०८१ बैशाख १० गते रोल्पादेखी साँस्कृतिक समूह आर्थिक संकलनका लागि पोखरा आउने कुरा बताउँदै केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर थिम्जे तमुले सम्पूर्णसँग सहयोग गरिदिन अनुरोध गरेको छ भने क्षेत्रीय समाज/इकाई ले पनि तमु जातिको पहिचानको निमित्त र तमु प्ये ताँ ल्हु ताँ जगेर्नाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
यसरी सम्पन्न आजको सहयोग रकम हस्तान्तरण कार्यक्रम र विस्तारित बैठकलाई केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष एकजंग प्ल्हें तमुले स्वागत र महासचिव हर्क योज तमुले सञ्चालन गरेका थिए भने सचिव बम टुक्ल्हेप्री तमुले उपस्थिति उठाएका थिए ।








