सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले राजस्व वृद्वि तथा राजस्वको चुहावट नियन्त्रणका विषयमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सुरक्षा निकायहरूसँग छलफल गर्नुभएको छ।
त्यस क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले नक्कली बिल बिजक जारी गर्ने र नक्कली राजस्व स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभयो ।
मुलुकको समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनुपर्ने बताउँदै सम्माननीय प्रधानमन्त्रीले अर्थतन्त्रलाई सुदृढ पार्नका लागि राजस्व चुहावट तथा अबैध व्यापारिक कारोवार रोक्नु आवश्यक रहेको बताउनुभयो ।
सम्माननीय प्रधानमन्त्रीज्यूले कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउन तथा आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने-दिने प्रणालीलाई प्रभावकारी बनाउन समेत निर्देशन दिनुभयो।








