१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को शनिबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म पोखरा महानगरपालिका २५ हेमजाको विष्णु पादुका खेल मैदानमा हुने भएको छ ।
राष्ट्रिय हेमजा आलु महोत्सवको आकर्षणका रुपमा आलुको पहाड निर्माण, आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् । महोत्वमा कृषि प्रदर्शनी, कृषि उत्पादन विक्रि वितरण, व्यापारिक, आलुका तथा कृषि उत्पादनका परिकार, प्राथामिक उपचार, वैकि· कारोवार, मनोरञ्जन गरी महोत्सवमा १ सय ३० स्टल रहने भएको छ ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमख मनहरी कडरीयाले महोत्सवले हेमजालाई राष्ट्रसम्म चिनारी गरेको बताउदै आलुको ३५ प्रतिशत बीउ हेमजाबाट उत्पादन भएको बताउनुभयो । उहाँले उत्पादन क्षेत्र भन्दा कम क्षेत्रमा बढी उत्पादन गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । महोत्सव गर्न आलु बाहिरबाट ल्याउने अबस्था नरहेको उल्लेख गर्दै एक पहाड सकिदैमा हेमजाको आलु नसकिने बताउनुभयो । अब क्षेत्र घटाउने र उत्पादन बढाउन गरि काम गर्नु पर्ने बताउदै कृषक जोगाउन जनप्रतिनिधि सहित सबै मिल्नुपर्ने बताउनुभयो ।








