पाल्पामा नुहाउन गएकी एक किशोरीको मंगलबार बिभत्स तरीकाले हत्या गरिएको छ। घरभन्दा केही टाढा रहेको धारामा नुहाउन गएकी पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको बिभत्स तरीकाले हत्या गरिएको हो।
बिहान धारामा नुहाउन भनेर हिडेकी पद्मा सुनार घरदखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको रिब्दिकोट गाउँपालिका १ का वडाध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । युवतीको हातको औला, पाखुरा काटिएको अवस्थामा खरबारीमा भेटिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए।
दिउँसो तीन बजेसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार साँझ केही पर उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव फेला परेको पोखरेलले बताए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।








