गण्डकी प्रदेशको राजधानी पोखरालाई आज पर्यटक राजधानी घोषणा गरिने
अभियान हाम्रो /
आइतबार, चैत ०४, २०८०
पोखरा महानगरले आज महानगर र मातहतका कार्यालयहरुमा बिदा दिएको छ । आज आइतबार गण्डकी प्रदेशको राजधानी पोखरा लाई नेपालमै पहिलो पर्यटक राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेको पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते भव्य समारोहका बीच पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले घोषणा कार्यक्रममा सबै पोखरेलीको सक्रिय सहभागिता रहने भएकाले महानगर कार्यालय, वडा कार्यालय, शाखा, महाशाखाहरु बन्द गरिएको जनाएका छन् ।आज आइतबार र्यालीसहित बाराही घाटमा हुने विशेष समारोहमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी छ ।
घोषणा समारोह अघि विहान १०ः१५ बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकी समेतको र्याली ,बाजा सहित फेवाताल किनार बाराही घाटमा प्रमुख अतिथि सन्माननिय प्रधानमन्त्री पुस्पकमल दहाल द्वारा उद्घाटन हुने आयोजकले जनाएको छ। “प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकी सहितको र्यालीपछि हुने कार्यक्रममा राजधानी सहरको सिम्बोल अनावरणपछि औपचारिक रुपमा पर्यटकिय राजधानी घोषणा हुनेछ ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगको आयोजनामा हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् । वि.स २०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य प्रदेश सरकार, स्थानीय तहहरु, संघ, संस्था र सरोकारवालाको संलग्नतामा पर्यटकीय राजधानी घोषणा हुने बताउनुहुन्छ । पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्ने तयारी छ । पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दैछौँ । यसबाट गण्डकी प्रदेश सहित समग्र देशको सम्वृद्दिमा समेत टेवा पुग्ने विश्वास रहेको प्रमुख आचार्यले वताउनु भयो । साथै कार्यक्रममा साहित्यकार, भाषाविद, संगितकार, गायककार र कण्डरा व्याण्डको समेत सहभागिता रहनेछ ।