दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राई । अहिले पशुपति आर्यघाटस्थित किरियापुत्री भवनको १०७ नम्बर कोठामा किरिया बसेकी छिन् ।
श्रीमान् पाण्डवको मृत्यु भएपछि शववाहन आयो, तर दिने पैसा नभएपछि फिर्ता गयो । शववाहन रित्तै फिर्ता भएपछि माइलीले श्रीमान्ले नै चलाउँदै आएको रिक्सा निकालिन् । शव रिक्सामा हालिन् र छोरा-छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्याइन् ।
माइली सुनाउँछिन्, “लास लैजान शववाहन बोलाइयो । कोठामा आएको थियो, आर्यघाटसम्म लैजान चारहजार रुपैयाँ माग्यो । त्यत्रो पैसा थिएन । पैसा छैन भनेपछि शववाहन शव नलिइ फर्कियो । शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन भन्दै कराउन थाले । श्रीमान्ले चलाउँदै आएको रिक्सामा शव राखेर आर्यघाट लग्यौँ ।”
दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे । बिहान करिब १० बजेको थियो । त्यहाँका कर्मचारीहरूले चारहजार रुपैयाँ शुल्क मागे । शव दहन केन्द्र पुगे पनि पैसा नभएकाले दिनभरजसो रिक्सामै राखिन् । पैसा नभएपछि उनको श्रीमान्को शव जल्न सकेन ।
उनको बिजोक देख्नेहरूले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यलाई जानकारी गराए । वैद्य तुरुन्तै घाट पुगे । चारहजार रुपैयाँ शुल्क भुक्तानी गरिदिए । त्यसपछि जल्यो, माइलीका श्रीमान्को शव ।
श्रीमान्को शव जलाएर उनी डेरा फिर्ता भइन् । किरिया बस्ने भन्दै डेरा पुगेकी उनलाई घरबेटीले अवरोध गरे । त्यसपछि उनी फेरि घाट नै गइन् । घाटमै बस्दा कोठाको बहाल तिर्नुपर्ने भयो । रनभुल्लमा परेकी माइलीले फेरि पूर्वसांसद वैद्यलाई फोन गरेर दु:ख सुनाइन् ।
माइलीको परिवारलाई ५० भन्दा बढी सहयोगीबाट चार लाख रुपैयाँ जति सहयोग उठेको छ । ‘नुवाकोट काठमाडौं पत्रकार समाज’को पहलमा २५ हजार रुपैयाँ उठेको छ भने अमेरिकामा रहेका पत्रकार रामचन्द्र भट्टको पहलमा त्यहाँ रहेका नेपालीबाट १५ सय डलर (झन्डै २ लाख रुपैयाँ) उठेको छ । यो रकम भोलि बुधबार दिइनेछ ।
काठमाडौंबाट खानका लागि १२ बोराभन्दा धेरै चामल र पिठो, फलफूल, दाललगायतका खाद्य सामग्री पनि जुटेको छ । मदनकुमार श्रेष्ठले ३० हजार, रुद्र ढुङ्गेलले १५ हजार, नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रबहादुर सिंहले १० हजार, शिवशंकर गौतमले पाँच हजार रुपैयाँ गरी काठमाडौंबाटै डेढ लाख जति सहयोग उठेको छ ।








