मोरङको पथरी शनिश्चरेमा एक किशोरीको विभत्स हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरामा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् ।
पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोल बस्दै आएकी १५ वर्षीय सम्झना भनिने ज्ञानमती थुलुङ राईको सोमबार राति करिब साढे १० बजेतिर शौचालय जान घरबाहिर निस्किएको बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा चौधरीलाई राति करिब साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
विराटनगर रानी बोर्डर हुँदै भारत जाँदै गर्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था ‘सुनौला हातहरु’का प्रतिनिधिले दुबैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो ।
प्रहरीले दुबैलाई कागज गरेर परिवारको जिम्मा लगायो । परिवारका सदस्यले सम्झनालाई पनि धीरेनबाट टाढा रहन सम्झाए । धीरेनलाई पनि फोन गरेर पिछा नगर्न भनेका थिए, तर उनी रोकिएनन् । सम्झनाको नाममा फेसबुक, इस्टाग्राम र इमो खोलेर जथाभावी पोष्ट गर्न थाले । परिवारका सदस्यलाई पनि आपत्तिजनक तस्वीरहरु पठाएर तनाव दिए ।
सोमबार बाराको जितपुर सिमराबाट पथरी आइपुगेका चौधरीले सम्झानाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घर पछाडिको आगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।








