गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भटिएको उनले बताए। त्यहाँको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको उनको दाबी छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘लास झुण्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने दावी अस्वभाविक र अपत्यारिलो देखिन्थ्यो।’ घटनापछि सो विद्यालयमा गइ मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाइ छलफलपछि मात्र मुचुल्का गरौँ भन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेको किशोरीका बुवा दिपेन्द्रले बताए।

आफू काठमाडौँमा भएको बेला उक्त घट्ना घटेको जानकारी विद्यालयबाट आएको र ‘म नआइकन कुनै पनि प्रक्रिया अगाडि नबढाउनुस्, म दुई घण्टामा आइपुग्छु’ भनेर विद्यालय प्रशासनलाई जानकारी गराउँदा त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनशायले विभिन्न क्रियाकलाप भइसकेको उनको दाबी छ। आफू त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’को ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाइ गरिएको उनको भनाइ छ। साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए। ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ। सो घट्नामा आफ्ना भाइ हरिलाई प्रहरीले निर्घात कुटपिट गरेको र बढी बोलेमा गोली हानी मारिदिन्छौँ भनेर प्रहरीले नै धम्की दिएको उनले बताए। उक्त घटनामा आफूहले शंकाको घेरामा रहेका विद्यालयका प्रिन्सिपल बालहरि देवककोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले नाम हटाएर ल्याउन भनेको उनले बताए। दिपेन्द्रले आफ्नी छोरीलाई यिनै तीन जनाले बलात्कार गरी हत्या गरेको दाबी गरे।

अध्यनरत छात्रा मृत शालिन पोखरेल








