इन्द्रेणीबाट निकालिएका कलाकारहरु मध्ये ५ जनाको कार्यक्रम सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । दुई दिन वार्ता गरेपश्चात उनीहरूले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।
बिहीबार राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ । दुवै पक्षले एक-अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिबद्धता सहमति पत्रमा गरिएको छ ।
इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरूले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए । ऊनीहरूमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दाबी समेत गरेकी थिए ।
यस्तो आरोपको प्रतिवादमा कँडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले अदालतमा मानहानिको मुद्दा पनि दिएका छन् । सो मुद्दा परेपछि निकालिएका कलाकारहरू कँडेलसँग सम्झौतामा आउन तत्पर भएका हुन् ।







