प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीकाे भ्यानबाट खसेर ज्यान गएकाे हाे। सुर्खेत गुर्भाकोट न.पा. वडा नं. १२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार एलजीको मृत्यु भएकाे प्रहरीले जनाएको छ।
बलम्बु प्रहरी कार्यालयको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानमा ड्युटीको क्रममा नैकाप तर्फबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा ११:१५ बजे बल्खु खोला सिप्रदीनजिक उक्त भ्यानको पछाडिबाट अकस्मात खस्दा उनी घाइते भएका थिए।
तत्काल उद्धार गरी उनलाई घटनास्थल नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएकाे थियाे। त्यहाँ उपचार सम्भव नभएपश्चात् नेपाल एपिएफ अस्पतालमा लगेर उपचार गराउँदा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।








