जनमत पार्टीले राजविराज नगरपालिका–३ स्थित मधेश कृषि विश्वविद्यालयमा गरेको तालाबन्दीका कारण एक साता देखि विश्वविद्यालयको पठनपाठनलगायतका सम्पूर्ण कामकाज ठप्प भएको छ ।
कृषि विश्वविद्यालयको शिलान्यासको विषयमा उत्पन्न विवाद पछि माघ ७ गते जनमत पार्टी सप्तरीका कार्यकर्ताले विश्वविद्यालय कार्यालयमा तालाबन्दी गरेदेखि सम्पूर्ण कामकाज ठप्प भएको हो । एक सातादेखि तालाबन्दी हुँदा समेत खोल्ने तर्फ कसैले चासो नदेखाएको विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । सिडिओ किरण थापाले सरोकारवालाहरुसँग छ्लफल गरेर तालाबन्दीको चाँडै निकास निकाल्ने बताउनु भयो ।
विश्वविद्यालयको कार्यालयमा ताला लागेपनि राजविराज नगरपालिका–१३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माघ ८ गते भूमिपूजन गर्दै भवनको शिलान्यास गर्नुभएको छ । सो को विरोध गर्दा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र प्रदेश सांसदहरुमाथि प्रहरीले लाठी चार्ज गरेर घाइते बनाएका थिए । जनमत पार्टीले माघ ९ गते सरकारबाट समर्थन फिर्ता लिदै जनमत पार्टीबाट सहभागी मन्त्रीहरुले राजिनामा दिनुभएको छ ।
भवनको शिलान्यासपछि विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुर सम्पर्कविहिन भएका छन् । विद्यार्थीहरुले विश्वविद्यालयमा लागेको ताला खोलेर पठनपाठनको वातावरण मिलाइदिन सरोकारवालसँग आग्रह गरेका छन् ।
कृषि विज्ञान, पशु, स्वास्थ्य तथा पशु विज्ञान, माछा विज्ञान र खाद्यप्रविधि विज्ञान गरी चार वटा संकाय रहने मधेस कृषि विश्वविद्यालयको स्थापना २०७८ मङ्सिर २७ गते भएको हो । स्थानीय एक विद्यालयको भवनमा रहेको विश्वविद्यालयले हाल कृषि विज्ञानको अध्ययन गरिरहेको छ ।








