सुजन थापा
थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति कास्कीले सोमबार खिचरा पर्व तथा माघी कार्यक्रम २०८० कालाबाङ घडेरी तमु समाज विरौटामा मनाएको छ।

नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। यसै अनुरूप थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति कास्कीले पनि विभिन्न कार्यक्रम गरी यो पर्व मनाएको हो ।

यो पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्दछन। अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे। माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो। जसका कारण माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको हो। थारू समुदायले माघी माघ महिनाभर मनाउँछन्। सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्वका रूपमा घोषणा गरेको हो।








