प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छन्। यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो।
हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो। अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यावसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यावसायीले नै बताएका छन्।
हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनिका संचालक शैलेन्द्र रावतले भने, ‘सबैतिर सस्तो परेपछि मैले पनि सस्तैमा उडाएको हुँ।’ उनका अनुसार यो मूल्य १५ देखि २० मिनेटसम्म अवधिका लागि मात्र हो।
रावतका अनुसार व्यावसायी, छाता संस्था र पाइलटबीचको विवादले उडान नै रोकिएपछि प्राधिकरणले छाता संस्था ना लाई मूल्य नतोक्न निर्देशन दिएको थियो। ‘प्राधिकरणले ना लाई मूल्य तोक्न नपाउने भनेर खुला गरिदियो। त्यसपछि खुला बजार प्रतिश्पर्धामा जान बाध्य हुँदा मुल्य घटेको हो। कार्टेलिङ भएको गुनासो भएपछि खुला बजारमा जानुपर्छ भन्ने भयो,’ उनले भने, ‘जसले गर्दा मूल्य घट्न पुग्यो।’
सबै कम्पनिले मूल्य घटाएपछि आफुहरु पनि बाध्य भएको उनले बताए। पाइलटले आम्दानीको ६० प्रतिशत रकम लिने भएकोले पनि अबको नयाँ मूल्यमा पाइलटको आम्दानी खुम्चने उनले बताए। प्याराग्लाइडिङ उडान गर्दा यात्रुले तिरेको मुल्यको ६० प्रतिशत पाइलट र ४० प्रतिशत कम्पनिले लिने गरेको थियो। ‘बजारीकरण गरेर आफ्ना पाहुनालाई आफैले सेवा दिँदा खासै समस्या आउँदैन,’ उनले भने।
प्याराग्लाइडिङ उडानमा प्रतिश्प्र्धात्मक तरिका अपनाउन पाउने भएपछि अहिले कम्पनिले मूल्य घटाएका छन। तर, केही व्यावसायीले यसरी मुल्य घटाएर उडान गर्न खोज्दा प्रतिश्पर्धा बढेर झनै दुर्घटना बढ्ने जोखिम रहेको बताए।
उनका अनुसार यसअघि पोखराको सराङकोटमा ४ र तोरीपानीमा १ गरि ५ वटा टेकअफ पोइन्ट थिए। ल्याण्डिङ पोइन्ट ४ वटा थिए। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि सराङकोटबाट हुने उडान रोकिएको थियो। अहिले प्याराग्लाइडिङको तोरिपानी र मान्द्रेडुंगामा गरि २ वटा टेकअफ र पामेको पुल छेउमा एउटा मात्र ल्याण्डिङ पोइन्ट छ।
छाता संस्था ना अध्यक्ष सुनिल भट्टराईले पनि खुला बजारमा जाँदा व्यावसायीले मुल्य ३ देखि ४ हजार रुपैयाँमा झारेको बताए। त्यसबाहेक कम मुल्यमा उडाउँदा पाइलटले पारिश्रमिक पनि कम पाउँछन्। धेरै कमाउने नाममा उडानको चाप पाइलटलाई पर्न जाँदा समस्या बढ्ने चिन्ता रहेको उनले बताए।








