• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१ सय ६८ मुरी धान फलाउने दम्पतीलाई गाउँपालिकाले दियाे ५० हजार रुपैयाँ

"१ सय ६८ मुरी धान फलाउने दम्पतीलाई गाउँपालिकाले दियाे ५० हजार रुपैयाँ "

  •    रासस / आइतबार, पुष ०८, २०८०  

  • पाँचथर – पाँचवटा खेतमा फलेको १ सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधवार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।

    मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उहाँकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।

    फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार रुपैयाँ र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । याे घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुग्नुभएको थियो । उहाँले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गर्नुभयो । मकरबहादुरको दाबीपछि बुधवार जनप्रतिनिधि र कर्मचारी उहाँको घर पुग्नु भएको हो ।

    मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उहाँ औधी खुशी हुनुभयो । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनि, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । याे बीउबाट फलेकोमध्ये ३० मुरी धान उहाँले यसअघि नै बिक्री गरिसकेको बताउनुभयो । त्यसैले उहाँले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो ।

    फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले  फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताउनुभयो । गएकाे मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाउनुभएको थियो ।

    ‘वडाध्यक्षले खबर गरेपछि गएकाे मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ’, मकरबहादुरले भन्नुभयो । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उहाँको भनाइ छ । ‘विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँचजनाको परिवार थियो’, उहाँले भन्नुभयो, ‘मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।’ मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिनुभएको हो । उहाँले मकैका लागि पाखो बारी  अधियाँमा लिनुभएको छ ।

    किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाउनुभएको थियो । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गर्नुभयो । ‘धान जम्मा गर्न सात हजार रुपैयाँ खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्’, उहाँले भन्नुभयो । बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहनुभएको छ ।

    ‘दुःख नभइ सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्’, मकरबहादुरले भन्नुभयो । विसं २०६० देखि धान खेतीमा लागिपरेको उहाँ बताउनुहुन्छ । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उहाँले बताउनुभयो । मकरबहादुर गाउँपालिकाले ५० हजार रुपैयाँ पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा हुनुहुन्छ । ‘गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ’, उहाँले भन्नुभयो । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएका स्थानीयवासीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.