बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीव्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ ।

उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई थप आकर्षण बनाउनका लागी सम्पूर्ण संयोजक र सल्लाहकारुबीच बृहत छलफल समेत गरेको छ । सो अवसरमा बाह्रौँ पोखरा महोत्सवका सल्लाहकारहरु दिपक थापा, लिलाधर अधिकारी, सुनिल गुरुङ, तीर्थलाल श्रेष्ठ, सन्तोष सिग्देल, तोरण बानियाँ, पवित्रादेवी गुरुङ, तेज बहादुर गुरुङ, जस बहादुर गुरुङ र गोविन्द घिमिरे लगायतले आ–आफ्नो धारणा राख्दै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि सम्पूर्ण जिम्मेवार प्राप्त ब्याक्तिहरुले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका थिए ।








