बारामा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ। झडपमा प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारी र १० जना प्रहरी घाइते भएका छन्। सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि उत्पन्न विवाद झडपमा परिणत भएको थियो ।
नगरपालिका कार्यालयमै भएको झडपलाई नियन्त्रणमा ल्याउन प्रहरीले गोली चलाएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो।
उहाँका अनुसार झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको काफ्लेको भनाइ छ ।
गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । घाइते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।








