मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि सम्पर्क यात्राको क्रममा सोमबार बेलुका रामेछापका सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा रामेछापवासीको तर्फबाट नेकपा एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष सो माग पेस गर्नुभएको हो ।
मध्य पहाडी पुष्पलाल लोकमार्गको हालको नक्सा परिवर्तन गरी काभ्रे र रामेछापको सिमाना चौँरीखोला हुँदै गाल्पा भञ्ज्याङबाट सदरमुकाम मन्थली–पुष्पलालको जन्मथलो भँगेरी–साँघुटार हुँदै ओखलढुङ्गाको सदरमुकामबाट खोटाङ दिक्तेल जोड्नु पर्ने माग रामेछापवासीले राख्नु भएको छ ।
त्यस्तै सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणले तल्लो तटीय क्षेत्रको खानेपानी, सिँचाइ तथा पर्यावरणीय क्षेत्रमा पार्ने असर र प्रभाव अध्ययन गरी यथोचित सम्बोधन गर्नुपर्ने माग पनि गरिएको छ ।
जिल्लाका रणनीतिक महत्वका हरेक वडाबाट गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम तथा लोक मार्गसँग जोड्ने सडक सञ्जाललाई व्यवस्थित गर्दै क्रमशः पिच गर्न बृहत् गुरुयोजना बनाई कार्यान्वयनमा प्राविधिक सहयोग एवं पर्याप्त बजेट विनियोजनको व्यवस्था गर्नुपर्ने माग रामेछापवासीको छ ।
जिल्ला भित्र रहेका महत्त्वपूर्ण पर्यटकीय स्थलहरू सैलुङ, गिद्धे, तामे, देउराली, जटापोखरी, सेर्दिङ, गुम्देल उमातीर्थ, थानापति, खाँडादेवी, त्रिवेणी, केवलेश्वर, विश्वामित्र गुफा, अग्लेश्वरी, सुनापति, नर्वदेश्वर लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा पहुँच मार्ग सहित संरक्षण र प्रवर्धनको काम गरी पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने, नेकपा एमालेको पहलमा सुरु भएका विभिन्न योजनाको काम अहिले अलपत्र परेकाले त्यसलाई उचित बजेट विनियोजन गरी सञ्चालनको पहल गर्नुपर्न, ठोसे फलाम खानी, विभिन्न ठाउँमा रहेका तामाखानी, स्लेट ढुङ्गा खानी, खरिढुंगा, चुनढुंगा लगायतका खानी र उद्योग सञ्चालन गरी देशको समृद्धिमा योगदान गर्नुपर्ने माग पनि गरिएको छ ।
रामेछाप नगरपालिकाको भँगेरी स्थित पुष्पलालको जन्मस्थलमा निर्माणाधीन पुष्पलाल पार्क बजेट अभावका कारण निर्माणमा ढिलाइ भइरहेकोले आवश्यक बजेट विनियोजन गरी समयमै कार्य सम्पन्न गर्नुपर्ने तथा गङ्गालाल र पुष्पलालको जन्मस्थल रहेको रामेछाप नगरपालिकाको नाम उहाँहरूको नामबाट नामकरण गर्नुपर्ने माग पनि राखिएको छ ।








