बुधबार विहान मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन्।
हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौं। यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ,’ मेयर शाहले लेखेका छ ।
उनले भने, महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ।’
मंसिर २९ भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने पनि मेयर शाहले बताए ।








