हुम्लामा आज सोमबार बिहानैदेखि हिमपात सुरु भए संगै चिसो बढेकोले जनजीवन कष्टकर बन्दै गएको छ।
सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताए। हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उनले बताए।
आज सोमबार बिहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ। जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन्। बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए। अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ।
यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ। सोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ। जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यस पटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ। चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
रासस








