फाइल फोटो
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन नेपालका विभिन्न भागमा इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई ताकेता गरेको छ । प्राधिकरणले मंगलबार साँझ जारी गरेको सूचनामा उक्त जानकारी उपलब्ध नगराउने कम्पनीको अनुमतिपत्र खारेजीसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौं बाहिर इन्टरनेट सेवा प्रदान गर्ने ५५ कम्पनीले अहिलेसम्म सो जानकारी नदिएको भन्दै २४ घण्टाभित्र सो जानकारी उपलब्ध गराउन आग्रह गरेको छ । नेपाल दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको हो ।
‘मन्त्रिपरिषद्को बैठकबाट प्राधिकरणले मंसिर ५, मंसिर २ र कात्तिक २८ मा सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको टिकटकको पहुँचमा रोक लगाउने निर्णय कार्यान्वयन गराउन, सेवा बन्द गरिएकोबारे जानकारी दिन र चलिरहेको थाहा भए प्राधिकरणलाई सूचना उपलब्ध गराउन आग्रह गरेको थियो ।
सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटक पीटीई लिमिटेड, बाइटडान्स लिमिटेड र सीडीएन उपलब्ध गराउने कम्पनीहरूलाई आग्रह गरिसकिएको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले मंगलबार नै प्रेस विज्ञप्तिसमेत जारी गर्दै सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले हालसम्म गरेका कार्यहरूको विवरण पनि सार्वजनिक गरेको छ ।साथै टिकटकमाथिको प्रतिबन्ध विषयमा प्राधिकरणले प्रधानमन्त्री कार्यालयमा एक समीक्षा बैठक आयोजना गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकम, एनसेललगायत केही प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीको उपस्थितिमा छलफल गरेको जनाएको छ ।
अनुगमनमा १७ वटा मध्ये ६ कम्पनीको नेटवर्कमा टिकटक पूर्णरूपमा बन्द रहेको पाइए पनि ११ वटामा आंशिक रूपमा चलिरहेको पाइएकोले स्पष्टीकरणको लागि पत्र पठाएको समेत प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।








