नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदनहरूमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुँदैछ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेका रिटमा सुनुवाइका लागि आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हो ।
सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिए पनि इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए । सो रिटमाथि आजबाट सुनवाइ हुन लागेको हो । सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा.सुनिल रञ्जन सिंह, , प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका हुन् ।टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लङ्घन भएको रिटमा उल्लेख गरिएको छ ।








