नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पताल १५ शैय्याको भएपनि हाल ७२ शैय्या सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
१५ शैय्याको अस्पतालको रुपमा स्वीकृत दरबन्दी ३१ जना रहेको छ । त्यस मध्ये पनि हाल जम्मा १४ जना मात्रै जनशक्ति रहेका छन् । सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताउनुभयो ।
अस्पतालमा बिरामीको चाँप धेरै रहेकाले थोरै जनशक्तिबाट सेवा दिन निक्कै कठिन रहेको उहाँले बताउनुभयो । आवश्यक स्रोत र जनशक्ति नहुँदा सेवा दिन निक्कै मुस्किल भएको उहाँको गुनासो छ ।
डा. कँडेलका अनुसार जिल्ला अस्पतालमा विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने बिरामीको चाँप उल्लेख्य रुपमा बढेको छ । २०७७÷०७८ मा २२ हजार ३ सय ६१ जनाले सेवा लिएकोमा गत आर्थिक वर्षमा ९० हजार ७ सय ५६ जनाले सेवा लिएका छन् । यो तथ्याङ्क गत वर्ष गण्डकी प्रदेशका अन्य जिल्लाका अस्पतालबाट प्रदान गरिएको सेवा संख्या मध्ये सबैभन्दा धेरै हो । बिरामीको चाँप बढ्दै जाने तर स्रोत साधन थप्ने विषयमा भने पहल नहुँदा समस्या भएको उहाँको भनाई छ ।
हालको स्वीकृत १५ शैय्या हो । जिल्ला अस्पताललाई ५० शैय्याको अस्पतालका रुपमा रूपान्तरणको तयारी गरिएको छ ।
मध्यविन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले अस्पताल कठिन अवस्थाबाट गुज्रिरहेको बताउनुहुन्छ । ‘२०७५ सालमा जिल्ला अस्पतालको रुपमा घोषण भएकोमा ५ वर्ष सम्म १५ शैय्याको जनशक्ति पुरा हुन सकेन । बिरामीको चाँप बढ्दो छ , बाध्यताले शैय्याहरू थप गर्नुपर्ने अवस्था छ, तर साधन स्रोत न्यून छ’ अध्यक्ष घिमिरेले बताउनुभयो ।
जनशक्तिको कमी हुँदा समेत अस्पतालमा सुरु गरिएका विभिन्न सेवालाई जेनतेन निरन्तरता दिनुपर्ने अवस्था रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । अस्पताल प्रशासनको तर्फबाट सेवालाई प्रभावकारी बनाउन समन्वय भइरहेको भएपनि पूर्वाधारको कमी, जनशक्ति, प्रयोगशालाका लागि विभिन्न उपकरण लगायतको कमीले समस्या रहेको उहाँको भनाई छ । जिल्ला अस्पतालको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।







