खार्पुनाथ गाउँपालिका–३ स्थित राया स्वासथ्यचौकीमा एक हप्तादेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही मर्कामा परेका छन् ।
दशैँ विदापछि कात्तिक १० गतेदेखि राया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नफर्केपछि सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय सेवाग्राही नरेन्द्र रावलले गुनासो गर्नु भएको छ ।
उहाँका अनुसार आफ्नो बच्चालाई झाडा पखाला लागेपछि कात्तिक १५ गते सो स्वासथ्यचौकीमा जाँदा स्वास्थ्यकर्मी नै नभेटिएको गुनासो गर्नुभयो । त्यस्तै सोही ठाउँका अर्का स्थानीय हस्ता बुढा कात्तिक १६ गते स्वास्थ्य संस्थामा पुगे पनि स्वास्थ्यकर्मी नभेटिएपछि रित्तो हातमा घर फर्कन बाध्य भएको बताउनुभयो ।
खार्पुनाथ गाउँपालिकाको कात्तिक ३ गते निर्णय अनुसार खार्पूनाथमा रहेका सम्पुर्ण स्वास्थ्य चौकीहरूबाट विदामा आकस्मिक सेवा लगायत ओपिडि सेवा पनि नियमित रहने भनिएको थियो ।
स्वास्थ्य चौकीमा एक जना एचए, दुई जना अनमी, एक जना अहेव र दुई जना कार्यालय सहयागी कार्यरत रहेकोमा हाल एक जना स्वास्थ्यकर्मी नभएको स्थानीय ऐटन रावलले बताउनुभयो ।
उक्त स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नभएर विरामी रित्तो हातमा घर फर्कन बाध्य भएको विषयमा खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलाई बुझ्दा उहाँले आफू जिल्ला बाहिर रहेकोले सो विषयमा बुझ्ने प्रतिक्रिया दिनुभयो । त्यस्तै गरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीलाई फोन गर्दा उहाँका दुबै मोवाइल फोन अफ रहेका छन् ।








