कर्तव्य निर्वाहका क्रममा यहि कार्तिक-१५ गते विरगती प्राप्त गर्नुभएका प्रहरी चौकी घान्द्रुक, कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक टिकाराम ढुङ्गानाको पार्थिव शरिरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राङ्गणमा शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी, नेपाल प्रहरी प्रदेश कार्यलय,पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईरालाले उहाँको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नुभयो । उक्त श्रद्धाञ्जली सभामा प्रहरी व्याण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी उपरीक्षक बिनोद शर्मा, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापा लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले समेत पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँको मृत्युसंगै प्रहरी संगठनले कर्तव्यनिष्ठ, राष्ट्रप्रेमी, असल योद्दा गुमाउँदा समग्र संगठनलाई नै अतुलनीय क्षती व्यहोर्नु परेको महशुस भएको छ ।
स्वर्गीय प्रहरी सहायक निरीक्षक ढुङ्गानाले नेपाल प्रहरी जस्तो गरिमामय संगठनलाई दिनुभएको योगदान प्रहरी संगठनले कहिल्यै भुल्ने छैन र नेपाल प्रहरी संगठन सदैव उहाँलाई याद गरीरहेने छ । उहाँको आत्माको चिर शान्तिको कामना सहित शोक संन्तप्त परिवार प्रति प्रहरी संगठन हार्दिक समवेदना प्रकट गर्दछ ।








