कलैया उपमहानगरपालिका–१ का ३५ वर्षीय बाल एकता इङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई कात्तिक १३ गते गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न आरोपितहरूलाई कत्तिक १४ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरूमा कलैया उपमहानगरपालिका–६ मदर्शा टोलका २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, कलैया उपमहानगरपालिका–९ रामपुर का २६ वर्षीय रियाज अन्सारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी का २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाँउ बहार्वाकाला–१२ का २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् । आरोपितहरूलाई प्रहरीले कत्तिक १४ गते गिरफ्तार गरेपनि कत्तिक १५ गते जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट चार थान गोलीका खोका बरामद भएको थियो ।
गिरफ्तार भएका आरोपितहरू मध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अन्सारी सहयोगी तथा चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्ले जानकारी दिनु भयो । साथै विवाहेत्तर प्रेम सम्बन्ध एवम् रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको एसपी सुरेश काफ्ले जानकारी दिनु भयो ।
स्वर्णकारमाथि गोली प्रहार गर्नेहरू देश भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण बिहार थाना दार्पा १ सुकलहिया का २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेशवर सहनी फरार रहेका आरापितहरूको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्योपाने जानकारी दिनु भयो ।








