चङ्खेली गाउँपालिका–२ चिप्लेढुङ्गा स्थित नवज्योति आधारभूत विद्यालयका अनुदान शिक्षकहरु तीन महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
साेही विद्यालयका शिक्षक सुरेन्द्र शाहीले शिक्षा क्षेत्र भाषणमा पहिलो नम्बरको प्राथामिकतामा पर्ने गरेको भए पनि दैनिक विद्यालयमा धाएर पठनपाठन गर्ने शिक्षकले चाडपर्वमा पनि पारिश्रमिक नपाएको गुनासो गर्नुभयो । शिक्षकले नियम अनुसार पाउनु पर्ने पारिश्रमिक असारदेखि हालसम्म नपाएको शिक्षक शाहीले बताउनु भयोे । अनुदानका ३४ जना शिक्षकहरुले पारिश्रमिक पाउनबाट बञ्चित भएका छन् ।
चंखेली गाउँपालिकाको शिक्षा शाखाका प्रमुख परम पाण्डले गाउँपालिका भित्रका २५ ओटा सामुदायिक विद्यालयमा गाउँपालिकाको अनुदान बजेटबाट भर्ना भएर कार्यरत शिक्षकले असारदेखि पारिश्रमिक नपाएको स्वीकार गर्नु भएको छ । उहाँले लेखा शाखाबाट हिसाब मिलान हुन नसकेको समस्या देखाउँदै अनुदानका ३४ जना शिक्षकलाई पारिश्रमिकको व्यवस्था नभएको जानकारी दिनुभयाे ।
उहाँले अन्य दरबन्दीका शिक्षकले समेत दशैँ पेश्की सहित चार महिनाको पारिश्रमिक पाउनु पर्नेमा तीन महिनाको मात्र पाएको बताउनुभयो । सो विषयमा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीलाई बुझ्दा उहाँले लाई हिसाब मिलान नभएका कारण उक्त समस्या आएको बताउनुभयो ।







