मोरङ कारागारको निमार्णाधीन भवन, कैदीबन्दीको अवस्थालगायतका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले असोज २६ गते अनुगमन गरेको छ । मानव अधिकारकर्मी र अधिवक्ताहरूको टोलीले कारागारको नवनिर्मित भवन, कैदीबन्दीको अवस्थालगायतका विषयमा कारागार कार्यालय, मोरङका जेलर कृष्णहरि न्यौपानेसँग कारागारको अवस्थाका विषयमा जानकारी लिएको छ ।
इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, उच्च वार मानव अधिकार समिति मोरङ संयोजक अनिल खड्कासहित अधिवक्ताको टोलीले कारागारको अनुगमन गरेको हो । अनुगमनका क्रममा कैदीबन्दीलाई सुत्न समस्या भएको विषयमा टोलीले जेलरको ध्यानाकर्षण गराएको छ । आगामी केही महिनाभित्रमा नवनिर्मित भवन सञ्चालनमा आएपछि सुत्नबस्नको समस्या समाधान हुने जेलर न्यौपानेले बताउनु भयो ।
अधिकारकर्मीसँगको भेटमा जेलर न्यौपानेले कारागारलाई सरकारले उपलब्ध गराउने बजेट न्यून भएका कारण समस्या हुने गरेको बताउनु भयो । कारागारमा हाल ६० जना क्षयरोगी भएका र उनीहरूलाई छुट्टै कोठामा राखी व्यवस्थापन गरिएको जेलर न्यौपानेले बताउनु भयो । जेलर न्यौपानेले विराटनगरमा क्षयरोगको उपचार हुने भएकाले प्रदेशभरी रहेका कारागारहरूले क्षयरोगी कैदी वा बन्दी आउने वित्तिकै मोरङ कारागार पठाउने गरेका कारण क्षमता भन्दा बढी दायित्व निर्वाह गर्नु परेको बताउनु भयो
सिमित बजेटमा मोरङ कारागारको व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले बजेटको व्यवस्थापन उचित ढङ्गमा गरे मोरङ कारागारमा सुधार हुने बताउनु भयो । कारागारका अहेव भीमकुमार राईले दरबन्दीका एक जना अहेब र संस्थाको सहयोगमा दुई जना चिकित्सकको व्यवस्था भएपनि कैदीबन्दी बढी भएका कारण समस्या हुने गरेको बताउनु भयो । उहाँले कारागारमा रहेका सबैखाले विरामीको आधारभूत स्वास्थ्य जाँच, कोशी अस्पतालमा रेफर गर्नुपर्नेलगायतका कारण जनशक्ति अभाव भएको बताउनु भयो ।
२ सय ५० जना क्षमता भएको मोरङ कारागारमा हाल ९ सय ४४ जना पुरूष, ९८ जना महिला र पाँच जना आश्रित बालबालिका गरी १ हजार ४७ जना छन् ।








