कालिकाेट तिलागुफा नगरपालिका–१० स्थित रानावाडामा दुई जना बालिकाको ज्यान जानेगरीे ०७९ कात्तिक–१२ गते भएको बम विष्फोटन घटनाका पीडित मृतकका परिवारलाई सरकारले दिने राहत क्षतिपूर्ति हालसम्म पाएका छैनन् ।
बम विष्फोटन घटनामा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो । यस्तै आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा घाइते भएको १० महिना पुग्न लाग्दा पनि गृह मन्त्रालयको ढिलासुस्तीले पीडितहरुले राहत नपाएका हुन् । राज्यबाट मृतकका परिवारले पाउने क्षतिपूर्ति अहिले सम्म केही नपाएको मृतक झरना थापाका बाजे कर थापाले गुनासो गर्नु भयो । उहाँले घटना भएको १० महिनासम्म पनि क्षतिपूर्ति नदिनु राज्यको गैरजिम्मेवारीपन भएको बताउनु भयो ।
घटना लगत्तै जिल्ला स्तरीय राहत, क्षतिपूर्ति सिफारिस समितिको बैठक बसी सिफारिस गरी पठाए पनि हालसम्म क्षतिपूर्ति नआउदा पीडित परिवारले फोन गरेर हैरान गरिरहेको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले प्रतिक्रिया दिनु भयो । साथै उहाँले मन्त्रालयमा पटक पटक पत्र लेखि पठाउँदा पनि ढिलासुस्ती भइरहेको बताउनु भयो । घटनाका बारेमा इन्सेक,मानवअधिकार रक्षक जिल्ला सञ्जाल कालिकोट र पत्रकारहरुको टोलिले कात्तिक २५ र २६ गते घाइतेहरुको अवस्थाका विषयमा स्थलगत अनुगमन गरी स्थानीय प्रशासनलाई मृतकका परिवारलाई क्षतिपूर्ति र घाइते बालवालिकाको उचित उपचार, राहत, उच्च शिक्षा, रोजगारी लागि तत्काल यथोचित कदम चाल्न तीनै तहका सरकारलाई सुझाव दिएको थियो ।
यस्ता घटनामा परेका पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको राहत क्षतिपूर्ति सिफारिस समितिको सिफारिसको आधारमा गृह मन्त्रालयले मृतक परिवार १० लाख सम्म राहत उपलब्ध गराउने व्यवस्था रहेको छ ।