स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू भएपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरि डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँँले घटाएको हो । यसैगरी खाना पकाउने ग्यासको मूल्य पनि १० रुपैयाँले घटेको छ ।
नयाँ प्रणाली अनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । यस अनुसार अब काठमाडौं पोखरालगायत क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ भने तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ । डिजेलको मूल्य पनि ढुवानी धेरै लाग्ने स्थानमा अधिकतम १४६ रुपैयाँ पर्नेछ ।
खाना पकाउने ग्यासको सिलिन्डर अब १७९० रुपैयाँमा पाइनेछ । हवाई इन्धनमा भने स्वचालित मूल्य प्रणाली लागू हुनेछैन ।