काठमाडौं।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राष्ट्रिय शक्तिहरूलाई कमजोर बनाउने विदेशीहरूले चलखेल गरिरहेको बताएका छन्। काठमाडौंमा मंगलबार सुरु भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलनमा उनले नेपालको राजनीतिमा विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्ने बताए।
‘नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने विदेशीहरूले खेल खेलिरहेका छन्। त्यो खेल असफल पार्न अनेरास्ववियुका योद्धाहरू देशभक्त योद्धाका रूपमा राष्ट्रिय राजनीतिमा अघि आउन जरुरी छ,’ महासचिव पोखरेलले भने। उनले स्वाधीनता र स्वाभिमान जोगाउन केपी ओलीले चल्ने कदममा सहयोग गर्न आग्रहसमेत गरे।
पोखरेलले आजको राजनीति अवसरवादबाट आक्रान्त रहेको बताए। उनले राजनीतिमा देखा परेको अवसरवादलाई परास्त गर्न जरुरी रहेको पनि बताए। उनले सामन्ती प्रेतलाई फेरि ब्युँताउन खोजिएको आरोप लगाए।
‘मसानघाटमा पुगेको सामन्ती प्रेतलाई फेरि ब्युँताउने प्रयास गरिँदैछ। त्यो प्रयास किमार्थ सफल हुन सक्दैन। त्यस्तो हुन नदिन र गणतन्त्रलाई संस्थागत गर्न पहरेदारका रूपमा प्रस्तुत हुन्छौं। हरेक प्रकारका अराजकतालाई अन्त्य गर्न हामी तयार हुन जरुरी छ,’ उनले भने। नेपालको राजनीतिक क्रान्ति मौलिक चरित्रको रहेको र यसलाई पूर्णता दिन चुनावी संघर्ष पहिलो थलो रहेको उनको भनाइ थियो।