अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय गौचरमा आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका नवौं तहका पूर्णप्रसाद चुडाललाई अख्तियार टोलीले घुससहित पक्राउ गर्यो ।
झापा बाह्रदशी गाउँपालिका–६ का स्थायी बासिन्दा ५१ वर्षीय चुडालमाथि अनुसन्धान जारी छ । तर, उनले लिने घुस र त्यसको प्रवृत्ति भने रोचक देखिएको छ ।विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्ने पास मिलाएर सजिलो बनाइदिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।
त्यस्तो सहजीकरण गरेबापत चुडालले मासिक १० हजारका दरले घुस लिएको अख्तियार टोलीले भेटेको छ । उनले ०७८ कात्तिकदेखि प्रतिमहिना १० हजारका दरले १५ महिनाको एकमुष्ठ डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।
घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो । कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ रकम र पाँच बोतल ब्ल्याक लेवल, एक बोतल डबल ब्ल्याक लेवल, चिभास रिगल, ग्ले’ नफिडिक, गोर्खाज एण्ड गन्स गरी नौ बोतल मदिरा बरामद गरेको छ ।