अरुणबहादुर खत्री “नदी”
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । लहरलहर गन्दै गजलकार एवं नियात्राकार खगेन्द्र गिरि कोपिलाको २०७० मा पछिल्लो छैठौ कृतिको रुपमा प्रकाशित भएको छ । उनको पहिलो कृति उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरु नामक गजलसङ्ग्रह २०५९ सालमा निस्केको थियो । यस सङ्ग्रहभित्र चिसोचिसो मन बोकेर, जुगलको मादक मुस्कान, स्वर्गद्वारीको लेकमा, एक फन्को भेरीको किनारैकिनार, प्रहरीको स्कर्टिङमा साहित्यिक यात्रा लगायत विभिन्न शीर्षकका २६ वटा नियात्राहरु समेटिएका छन् ।
यस सङ्ग्रहभित्रको चिसोचिसो मन बोकेर शीर्षकको पहिलो नियात्रामा हामीसँग मन त छ तर धन छैन । धनविनाको पर्यटनको मजा कस्तो होला भनिरहनुपरोइन । यसै सिलसिलामा डोटीको सिलगढीमा हुने सांस्कृतिक तथा साहित्यिक महोत्सवमा निम्ता आउँदा हाम्रो लागि ठूलो अवसर जुरेको जस्तो लाग्यो नियात्राकार खगेन्द्रले लेखेका छन् । जुगलको मादक मुस्कान शीर्षकको नियात्रामा त्रासैत्रासको बीचमा बाटो काट्नुको पीडा आफ्नो ठाउँमा छदै छ तर यसपालि भने प्रकाश राजापुरीसितको बसयात्रा पूर्ण रुपमा गजलको रसमा डुबेर बिताइयो । दस घन्टाको यस यात्राभरि विभिन्न रङ्ग, रस र स्वादका गजलहरु सुनाएर उहाँले हाम्रो यात्रालाई गजलमय बनाउनुभयो यस कृतिका लेखकले भनेका छन् ।
आफूले पढेको, सुनेको भूगोल र प्रकृतिलाई प्रत्यक्ष रुपमा भोग्ने इच्छाबाट अभिप्रेरित भएर नेपालका विभिन्न जिल्ला घुमिसकेका लेखकले सफलतापूर्वक पाठकलाई पनि आफैँसँग घुमाएका छन् । उनको नियात्राशैली सरल छ, सरस छ र सम्प्रेष्य छ । यात्रामा देखिएका भेटिएका दृष्य घटनाहरुको कृति मार्फत् चित्रण गर्ने खुबी यिनमा छ । यस सङ्ग्रहभित्र स्वदेश भ्रमण गर्दाका बारेमा लेखिएका नियात्रा संस्मरणहरु समावेश गरिएका छन् । शालीन व्यङ्ग्यको उपस्थिति यिनका नियात्राको अलग पहिचान बनेका छन् भने कुतूहुलता पैदा गर्नु जिज्ञासा पैदा गर्नु यिनका नियात्राको अर्को विशेषता हो । नियात्राको वनोटमा रोचकता तथा रसिलो प्रस्तुति छ यसभित्र । नियात्रा पढ्दाखेरी पाठकलाई चित्रकथा पढेझैं अनुभूत हुन्छ । स्वर्गद्वारीको लेकमा शीर्षकको नियात्रामा चुरे पहाडको काख र राप्ती नदीको किनारमा पर्ने भालुवाङ बजार महेन्द्र राजमार्गको निर्माणपछि अत्यन्त तीब्रताका साथ विस्तारित र विकसित भइरहेका नेपालका चुरेभावर क्षेत्रका नगरोन्मुख वस्ती मध्येको एक हो । प्यूठान र रोल्पातर्फ जाने कच्ची बाटो भालुवाङ बजारमै आएर महेन्द्र राजमार्गसित जोडिन्छ । तर यहाँबाट प्यूठान र रोल्पातर्फ जाने बसहरुको सङ्ख्या अत्यन्तै थोरै रहेछ, होलेरी रोल्पा जिल्लाको दक्षिणी भेगमा पर्ने एक चल्तीको बजार रहेछ घोराहीदेखि ४२ किलोमिटरको दूरीमा उत्तर दिशातर्फपर्ने होलेरीको प्राकृतिक सौन्दर्यले हामीलाई पहिलो नजरमै मोहित तुल्यायो भनिएको छ ।
नियात्राकार खगेन्द्रले यात्राका क्रममा देखेका, भोगेका, सुनेका र भेटिएका नियात्राहरु यसभित्र रहेका छन् । संक्षेपमा भन्नुपर्दा सोझा, सरस, सहज र सरल भाषामा लेखिएका नियात्राहरु यस सङ्ग्रहभित्र पढ्न पाइन्छ । यी यात्रा निबन्धमा भेटिने अनुुभूतिको रमरम र स्थान, समय, परिवेशमाथिको आलोचनात्मक दृष्टि यात्रा संस्मरणका प्रमुख पक्ष हुन् । उनले लेखेका प्रायः सबै नियात्राहरु लामा भए पनि मीठा छन् । नेपाली साहित्यमा नियात्रा र संस्मरण सबै खाले लेखक र पाठकले लेख्ने र पढ्ने बिधाका रुपमा दरिदै आएका बिधा हुन् । विषयवस्तुका विविधता, सरल भाषाशैली र शीर्षक सार्थक रहेकाले उनका यी नियात्राहरु पढेर नसकुन्जेल कौतूहलले चिमोटिरहने र पाठकलाई आफू पनि लेखकसँगै यात्रा गरिरहेको अनुभूति गराउने खालका छन् । जब उनी नेपाल घुम्छन् केही देख्ने रहरले, केही भोग्ने रहरले पनि घुम्ने गर्छन् । प्रहरीको स्कर्टिङमा साहित्यिक यात्रा शीर्षकको नियात्रामा साँझपख नेपालका राजमार्गहरुमा यात्रा गर्दा नेपाली समाजको बदलिँदो रुप हेर्न पाइन्छ । राजमार्गका आसपासमा खुलेका होटलहरुमा साँझ परेपछि रमझम सुरु हुन्छ । ठाउँठाउँमा मदिराको नसामा मातेर झगडा गर्दै गरेका मानिसका झुन्डहरुको सामना हुन्छ । जति रात छिप्पिदै गयो उति सडकमा गाडीहरुको ओहोरदोहोर कम हुँदै जाने हुनाले सडकमा हाँस्दै, मस्किदै, जिस्किँदै, ठट्ट गर्दै अल्लारे उमेरका केटाकेटीमा झुन्ड निस्फिक्री हिँडिरहेका पनि देखिन्छन् भनिएको छ ।
आधुनिक साहित्यमा गद्यविधा अन्तर्गत निबन्धको एउटा सशक्त उपविधाका रुपमा विकसित हुँदै आएको छ यात्रासाहित्य । यात्रासाहित्य वा नियात्रा यात्रा र संस्मरणको निबन्धात्मक समन्वित संरचना हो । यात्राका मोड, घुम्ती अनि गोरेटोमा भेटिएका अनुहारहरुलाई नाटकका पात्र जस्तै एउटा कथाभरि सँगसँगै रहेर छोडिएपछि अर्को कथामा आफूसहितको कुनै दृष्यको प्रतीक्षा उनले गरिरहेझैँ लाग्छ । यात्रा र स्थान परिवर्तनले मनभित्र नयाँ शक्ति प्रदान गर्दछ । आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा खगेन्द्रले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन् । मान्छे स्वभावैले भ्रमणशील प्राणी हो । ऊ एकै ठाउँमा बसेर जीवननिर्वाह गर्न सक्दैन । उसलाई सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक वा प्रशासनिक कामले आफूले जीवनयापन गरिरहेको भन्दा भिन्नै प्रकारको टाढाको भूभागमा गइरहनुपर्ने हुन्छ ।
खगेन्द्र गिरिको यो नियात्रासङ्ग्रह लहरलहर गन्दै अन्य नियात्राकारहरुका हालसम्म प्रकाशित नियात्रासङ्ग्रह भन्दा भिन्नै बान्की र स्वादको छ । साहित्यिक नियात्रा भएकोले यसको भिन्नै विशिष्टता छ । यो मूलतः साहित्यिक यात्राको सङ्ग्रह हो । गल्याङमा कल्याङमल्याङ शीर्षकभित्र नेपाली इतिहासमा सगर्व पढिने जितपुर गढी किल्लाको काखैमा छ बुटवल । त्यस किल्लाका भग्नावशेषहरु आजभोलि बुटवलको उत्तरपश्चिमी सिरान चुरेपहाडको कुनै थुम्कोमा चिरनिद्रामा मस्त सुतिरहेका होलान् । बुटवलबाट महेन्द्र राजमार्ग हुँदै पश्चिम लाग्दा तिनाउ खोलाभन्दा अलि अगाडि एउटा सानो खोला आउँछ जसलाई आजभोलि जितगढी खोला र त्यस भेगलाई जितगढी भनिदोरहेछ भनिएको छ । उनको लेखनक्षेत्रमा आफ्नैपन र आफ्नै कला छ । यसभित्र ६ वटा शुद्ध संस्मरण र २० वटा यात्रासँग सम्बन्धित लेखहरु छन् । १५ वटा साहित्यिक क्षेत्रसँग सम्बन्धित गोष्ठी, समारोह वा सम्मेलनमा भाग लिन जाँदाखेरीका छन् ।
भ्रमणबाट देशदेशावर र गाउँठाउँ मात्र देखिदैनन् त्यहाँका भूबनोट र प्राकृतिक दृश्य, थरिथरिका मानिस र तिनका जीवनशैली, वेषभूषा, खानपिन, मूर्तअमूर्त, संस्कृति अनि भाषाबारे पनि थुप्रै जानकारी, सूचना र ज्ञान पाइन्छ । भनिन्छ पनि पढेरभन्दा परेर जानिन्छ । भ्रमणबाट प्राप्त हुने ज्ञान पनि परेर जानिने ज्ञान नै हो । त्यसैले पनि भ्रमणको विशिष्ट महत्व रहेको छ । यस सङ्ग्रहभित्रको ओइलिएका छैनन् अझै आँसु शीर्षकको अन्तीम नियात्रामा मानिसले हरेक कुराको सुरुआत कुमारी सपनाहरु बोकेर गर्छ । कति सपनाहरुले उसलाई छाडेर जान्छन् भने कतिले ठगेर जान्छन् । अरुले छाडेर गए पनि आशङ्का र अन्योलले भने उसलाई पछिसम्म साथ दिएकै हुन्छन् नियात्राकारले लेखेका छन् । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत छन् । अन्त्यमा समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस कृृतिलाई नेपाली साहित्यप्रेमी पाठकहरुको मनले रुचाउनेछ । यस्तै अन्य कृतिहरु पढ्न पाइरहने अपेक्षा गर्दछु ।
लेखकः खगेन्द्र गिरि “कोपिला”
कृतिः लहरलहर गन्दै
प्रकाशकः सर्वदा साहित्य सङ्गम, नेपालगञ्ज
संस्करणः प्रथम, २०७० आश्विन सामाखुसी मार्ग, ९३५÷५४
मूल्यः रु.१००।– मोबाइल ९८४१७९७६६४
पृष्ठः १५६ काठमाडौं (नेपाल)