भारतीय नागरिकहरूलाई नेपाल हुँदै अमेरिका पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाई फिरौती माग्ने कार्यमा संलग्न १० जना आरोपितलाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त, गौशालाको प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ ।
प्रहरी गिरफ्तारीमा पर्नेहरूमा भारतको मध्य प्रदेशका ५८ वर्षीय ईन्दु सिंह यादव, नयाँ दिल्लीका ५४ वर्षीय अब्दुल रहिम, सोही ठाउँका ४२ वर्षीय चरण जित सिंह, पञ्जाबका ३८ वर्षीय अशोक कुमार, पञ्जाब ४७ वर्षीय मनिष कुमार मलहोत्रा, मध्य प्रदेशका ३० वर्षीय रवी मेवाडे, राजस्थानका ४८ वर्षीय राम चन्द्र शर्मा, पञ्जाबका ५१ वर्षीय निपुन गुप्ता, मोरङको विराटनगर महानगरपालिका-५ का ५२ वर्षीय मोहम्मद साविर मिया र सिन्धुलीको फिक्कल गाउँपालिका-३ का ३० वर्षीय लक्ष्मण गिरी रहेका छन् ।
भारतीय नागरिकहरूलाई नेपाल हुँदै अमेरिका पठाइदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई गौशालास्थित एक घरमा बन्धक बनाई परिवारको सदस्यहरूसँग ४० लाखदेखि ४५ लाख भारतीय रुपियाँ फिरौती माग गरेको भन्दै प्रहरीमा फागुन २ गते पीडित परिवारका तर्फबाट उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त, गौशालाबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बन्धक बनाई राखेको अवस्थामा काठमाडौँ महानगरपालिका-९, रातोपुलबाट ११ जना भारतीय नागरिकहरूलाई समेत उद्दार गरिएको एसएसपी खत्रीले बताउनु भयो ।
गिरफ्तारीमा परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम तथा सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम जिल्ला अदालतबाट फागुन ३ गते पाँच दिनको म्याद थप गर्दै अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले इन्सेकलाई जानकारी दिनुभयो ।








