पोखरा महानगरपालिकामा पनि जनप्रतिनिधि र कर्मचारी मिलेर अनुचित भत्ता लिएकोदेखि ‘आफ्ना मान्छे’लाई ठेक्का दिनेसम्मको विकृती देखिएका छन् । करोडौं राजश्वको हिसाबै देखिएको छैन । महानगरपालिकाको बेरुजू रकम १ अर्ब ९७ करोड पुगेको छ ।
आर्थिक वर्षको अन्तिम महिनामा हुने रोग त पुरानै हो तर अचम्म लाग्दो के देखिएको छ भने पोखराको एउटा वटाको विकास खर्च नै शून्य छ ।पोखराको वडा नम्बर ३ ले विकास खर्च कत्ति पनि गर्न सकेन । चालु खर्च बढी गर्नेमध्येको एक यो वडाको पुँजीगत खर्च शून्य छ । ६ करोड ८ लाख पुँजीगत बजेट रहेको यो वडामा एउटा पनि योजना कार्यान्वयन नभएको पाइएको छ
पोखरा महानगरपालिकाले घाट ठेक्काको टेन्डर खुलाउँदा, सम्झौता गर्दा र राजश्व असुल गर्दा अनियमित हुने गरी काम गरेको महालेखाले जनाएको छ । भेडीफारम घाट २३ लाख १ हजारमा ३ हजार २ सय ४० घनमिटर परिणाम निकाल्ने गरी सम्झौता गरेको छ ।
सोही घाट अघिल्लो वर्ष ५२ लाखमा ठेक्कामा गएको थियो । स्थानीयले अवरोधका कारण सो ठेक्का घटीमा दिइएको महानगरले भनेको छ । ठेक्का अगाडि नै सबै रकम बुझाएको भनि ५ प्रतिशत छुट समेत दिएको तर ५ लाख रुपैयाँ मात्र बुझाइएको भेटिएको छ । १६ लाख ८६ हजार रुपैयाँको कुनै हिसाबकिताब नै नराखी महानगरले अनियमित काम गरेको प्रतिवेदनले भनेको छ ।
सहस्रधारा घाटमा निजी जग्गा रहेको भनि रामचन्द्र थापालाई सोझै ठेक्कामा दिइएको छ । स्वार्थ बाझिएको यो घाटबाट महानगरले ५१ लख २८ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । सोही कम्पनीबाट १ लाख ८५ हजार रुपैयाँ करसमेत महानगरले नउठाएको प्रतिवेदनले उल्लेख गरेको छ
रामघाट ठेक्का लिएको राजी कन्स्ट्रक्सनबाट महानगरले ४ करोड ६५ लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ । ढाव दशखेतसमेत पुरन्चौर घाटको आर जे कन्स्ट्रक्सनबाट ९२ लाख, गढीघाट प्याकेजको टिबी निर्माण सेवाबाट १ करोड ८६ लाख, पशुपति घुमाउरे घाट प्याकेजको फेवा सावित्री जेभीबाट ५९ लाख ८५ हजार गरी ८ करोड ३२ लाख रुपैयाँ महानगरले असुल नगरेको देखिएको छ ।
ढाव दशखेतसमेत पुरन्चौर घाट प्याकेजका लागि आर जे कन्स्ट्रक्सनसँग ५० प्रतिशत रकम नै नबुझाइकन बुझाएको भनेर सम्झौता गरेको भेटिएको छ । १ करोड ८२ लाख ५५ हजार रुपैयाँको ठेक्कामा ५० प्रतिशत रकम नै नबुझाइ सबै बुझाएको भनि त्रुटिपूर्ण सम्झौता भएको छ ।
रामघाट ठेक्कामा ७६ लाख ५६ हजार रुपैयाँ राजश्व नै उठाइएको छैन । घाट ठेक्कामा कसैसँग पनि मूल्य अभिवृद्धि उठाइएको छैन भने शीर्षक फरक पारेर रकम दाखिला गरी अनियमितता गरेको भेटिएको छ ।
तल्लो गोस्तेमा ४ घाटको ठेक्कामा लिनुपर्ने भन्दा ४० लाख ५८ हजार रुपैयाँ कम रकम लिएर कम्पनीलाई छोडेको छ ।
स्रोत अनलाइन खबर